काठमाडौं । विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिए ।

 

उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए । आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो ।

 

परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेसँगै परिषद्ले वार्ताका लागि समिति गठन गरेको हो । अब शिक्षा मन्त्रालयले वार्ता कमिटी बनाएपछि औपचारिक छलफल प्रारम्भ हुने बताइएको छ।

 

गत १ भदौबाट आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएका थिए । परिषद्ले पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएको छ । परिषद्को निर्णयसँगै बन्द रहेका सबै सामुदायिक विद्यालय खुला हुनेछन् ।