इलाम । नवौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटका लागि सहभागी हुने इलामका ३२ जना खेलाडीको निशुल्क जीवन बीमा गरिएको छ । इलामको देउमाई नगरपालिका निवासी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर सोम लुइँटेलले निशुल्क बीमा गरिदिएका हुन् ।

 

पेशागत बीमा अभिकर्ता संघ बिमक समिति प्रदेश सदस्य समेत रहेका लुइँटेलले पुरुष र महिला टोलीका १६÷१६ जना खेलाडीको प्रतिव्यक्ति एक लाख रुपैयाँबराबरको बीमा गरिदिएको इलाम जिल्ला फुटबल संघका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

 

बीमा भएका खेलाडीहरुले १ वर्ष अवधिभित्रमा खेलका क्रममा घाइते भएको खण्डमा १ लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । ‘बीमा अवधिभित्रमा खेलाडीहरुको आकस्मिक कुनै कारणले मृत्यु भएमा परिवारले २ लाख र खेलाडी घाइते भएमा १ लाख पाउनुहुनेछ’, लुइँटेलले भने ‘यो वर्षको मैले व्यक्तिगत खर्चमा गरिदिएको हो । उहाँहरुले ३ वर्षसम्म बीमा रकम तिर्नुभएको खण्डमा पैसा फिर्तासमेत लिन सक्नुहुनेछ ।’

 

खेलाडीहरुको बीमा नेपाली फुटबलको लागि नयाँ कदम भएको जिल्ला फुटबल संघका पूर्व उपाध्यक्ष मणी गुरुङ बताउँछन् । उनले खेलाडीहरुको स्वास्थ्य र जीवन बीमाबारेमा निजी क्षेत्रको समेत सक्रियताले केही सुरक्षित महसुस हुने बताए ।