काठमाडौँ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् । यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् ।

 

यस्तो छ इतिहास
बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १-० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३-१, ६-० र ३-१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३-१ को नतिजा सुम्पेको थियो ।

 

साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहदैन । साबित्राले भुटानबिरुद्द ४(० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन् ।

 

बंगलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ ।

 

उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो । यस खेलको विजेताले नेपाल र भारतबीचको विजेतासँग फाइनल खेलमा भेट पक्का गर्नेछ ।