अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकपअन्तर्गतको महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम भएको छ । झापा अर्जुनधारा ३ को आयोजक च्यारिटी युथ क्लब (सिवाईसी)ले शुक्रबार पत्रकार सम्मेलन गरी गोल्डकपको बारेमा जानकारी दिएको हो ।

 

स्थानीय जुनतारा महिला फुटबल क्लबको सहआयोजनामा असोज ९ गतेदेखि हुने प्रतियोगितामा सहभागी टिमहरु निश्चित भइसकेको आयोजक सिवाईसीका अध्यक्ष लिलाबल्लभ खतिवडाले बताए । उनका अनुसार आयोजकसँगै झापाको रोयल एफसी दमक, इलाम महिला फुटबल क्लब, ताप्लेजुङ महिला फुटबल क्लब, उदयपुर ११, सुनसरी जिल्ला फुटबल संघ, पथरीशनिश्चरे महिला फुटबल क्लब र धनकुटा महिला फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

 

प्रतियोगिता मूल आयोजक समितिकी अध्यक्ष हिमा मगरले गोल्डकपको तयारी ७५ प्रतिशत पूरा भएको जानकारी दिए । तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले सहयोगी संघसंस्थालगायतको सहयोगबाट प्रतियोगिता आयोजना गर्न सकिने विश्वास बढेर गएको सुनाइन् । साेही कार्यक्रममा गाेल्डकपकाे लाेगाे पनि सार्वजनिक गरिएकाे थियाे ।

 

आयोजकका अनुसार सिग्नेचर पेय पदार्थको कम्पनीले पहिलो पुरस्कार प्रदान गर्ने भएको छ भने अर्जुनधारा ३ वडा कार्यालयले नगद १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताइएको छ । यस्तै, प्रवासी अर्जुनधारा युवा बचत समूहले विजेता तथा उपविजेताको ट्रफी सौजन्य गरेको छ । जसको नेतृत्व स्थानीय गणेश दुलालले गरेका छन् ।

 

अर्जुनधारा ३ स्थित प्राकृतिक खेल मैदानमा आयोजना हुने प्रतियोगिता यसअघि असोज ७ गतेदेखि गर्ने निर्णय भएको थियो । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

 

१४ लाख ५६ हजार ६६६ रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको प्रदेश १ का ८ वटा जिल्लाका महिला टिम प्रतियोगितामा सहभागी हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने प्रतियोगिताको उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छ ।

 

स्थानीय अग्रजहरुसँगको कार्यक्रममा फुटबलप्रेमीहरु संयोग सुब्बा, हेम कार्की, दिव्य कट्टेलले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमकी प्रमुख अतिथि अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य चन्द्रा तामाङले प्रतियोगिता सम्पन्न गर्न नगर र आफ्नो तर्फबाट सक्दो सहयोग जारी रहने प्रतिवद्धता जनाइन् ।