काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

 

महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन । यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो ।

 

साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।

 

अब नेपालले फाइनलमा सोमबार बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।