काठमाडौं । बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने एक मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा नपरेपछि फरवार्ड नवयुग श्रेष्ठले चलखेल भएको आशयको टिप्पणी गरेका छन् ।
नवयुगले बिहीबार राति सामाजिक संजाल फेसबुकबाट चलखेल भएको आशयको टिप्पणी गरेका हुन् । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार घोषणा गरेको टोलीमा उनी अटाएका थिएनन् । रोग को लक्षणः (विदेशी हुँदाभित्र, स्वदेशी हुँदा बाहिर, रोगको नामः (चहलखेल) उनले फेसबुकमा लेखेका छन् ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी हुँदा एसियन कप छनोटको दोस्रो चरणमा नवयुगले कप्तानी गरेका थिए । उनी टोलीमा किन अटेनन् भन्ने प्रश्नमा हुमागाईले उनी योग्य र अनुभवी खेलाडी भए पनि केही कुराको अभावका कारण टिममा छनोट हुन नसकेको उत्तर दिएका थिए ।
‘हाम्रो लागि सबै खेलाडी महत्वपूर्ण छन् । र, सबैजना राम्रो छन् । अहिलेसम्म यो स्तरमा खेलिसकेका छन् । नवयुग योग्य खेलाडी हुन् यसमा कुनै शंका छैन तर पनि हामीले केही कुराको तलमाथि पायौं तसर्थ नवयुग टोलीमा छैनन्’, उनले भनेका थिए ।