शनिश्चरे । झापाको अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लब र अर्जुनधारा स्र्पोर्टिङ क्लबको संयुक्त आयोजनामा आजदेखि दोस्रो नव युवा गोल्डकप २०७९ सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक अर्जुनधारा र अमरदह स्पोटिङ क्लबले भिड्दैछन् ।

 

स्थानीय अर्जुनधारा खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित आठ टिमको सहभागिता रहेको छ । अन्य टिमहरुमा रथखोला फुटबल क्लब (दार्जिलिङ), अमरदह स्पोर्टिङ क्लब, काँकडभिट्टा फुटबल क्लब, सैनिक फुटबल क्लब, दमक फुटबल क्लब, बिर्तामोड फुटबल क्लब र ब्रदर्श युनाइटेड फुटबल क्लब रहेको प्रचार प्रसार संयोजक कमल पोख्रेलले जानकारी दिए ।

 

असोज १६ गते फाइनल रहेको प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमशः नगद एक लाख एक हजार एक रुपैयाँ र ५१ हजार एक रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए ।

 

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपैयाँ र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने छ ।

 

 

अनुमानित खर्च आठ लाख ६२ हजार पाँच सय दुई रुपैयाँ लाग्ने उक्त प्रतियोगिता सम्पन्न गर्न संयोजक सुरेश अधिकारीको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ ।