शनिश्चरे । विजया दशमीको अवसरमा झापाको अर्जुनधारामा सोमबार आयोजित प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि खुदुनाबारी तेक्वान्दो डोजाङ अर्जुनधाराले जितेको छ ।

 

जिल्लाका १५ वटा डोजाङका दुई सय जना खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा दोस्रो स्थान भद्रपुरको लालीगुँरास तेक्वान्दो डोजाङ र तेस्रो जयपुर तेक्वान्दो डोजाङ बुद्धशान्ति भएको महासंघका कोषाध्यक्ष विवेक गिरीले जानकारी दिए ।

 

विजेता खुदुनाबारीले ५ स्वर्ण, दोस्रो हुने लालीगुँरासले ४ स्वर्ण र तेस्रो हुने जयपुरले ३ स्वर्ण प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी झोलुङ्गे तेक्वान्दो डोजाङ अर्जुनधाराका कुशल राई र उत्कृष्ट महिला खेलाडी लालीगुँरास तेक्वान्दो डोजाङ भद्रपुरका सम्झना महतो घोषित भएका थिए ।

 

‘खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुख्य नारासहित अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. १ का इञ्चार्ज देवराज घिमिरेले गरेका थिए ।

 

आयोजक नेपाल खेलकुद महासंघ अर्जुनधारा नगर कमिटीका अध्यक्ष हेमलाल परियारको अध्यक्षतामा आयोजित प्रतियोगितामा नेकपा एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठक, नेपाल खेलकुद महासंघ प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले आफ्ना भनाइ राखेका थिए भने उपप्रमुख खड्गमाया पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

 

कमिटीका उपाध्यक्ष गोविन्द खतिवडाले स्वागत र पाथीभरा महिला समूहले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन दुर्गाराज निरौलाले गरेका थिए ।