ताप्लेजुङ । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोेजित खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । कुल १३६ जना सहभागी प्रतियोगितामा कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन ।

 

तातोपानी गाउँपालिका ७ जुम्लाका कुँवर कर्णाली स्पोर्टिङ क्लबबाट खेल्ने गर्छन् । दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेयाङ्बो भए । भाट र मेयाङ्बोको अन्तर १ सेकेन्डको मात्रै थियो ।

 

शिखर नगरपालिका २ डोटी घर भएका भाट शिवदल गण बर्दिया धादिङमा कार्यरत छन् । उनले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे । पाँचथर घर भइ सेनाको युनिट रणशेर गण पाँचथरमा कार्यरत राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दूरी पार गरे । प्रथम भएकाले १ लाख ५१ हजार १११, दोस्रोले १ लाख ३१ हजार १११ र तेस्रोले १ लाख ११ हजार १११ प्राप्त गरेका छन् ।

 

पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्ले पाटी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको हो । पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा ११ गतेदेखि पर्यटन महोत्सव सुरु भएको हो । म्याराथनमा १३५ जना सहभागी थिए ।

 

महिलातर्फ समपाल्मूले जितिन्
ताप्लेजुङ महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङकै समपाल्मु शेर्पाले जितेकी छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्वाकी शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेकी हुन् ।

 

यस्तै भोजपुरकी छेम्बिमाया राईले दोस्रो स्थान ओगट्न सफल भइन् । उनले उनले ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । तृतीय स्थान ताप्लेजुङकै पेम्वाल्हामु शेर्पाले जितिन् । उनले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् ।

 

प्रथम हुनेले ८१ हजार, द्वितीयले ५१ र तृतीयले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीयको लामो अन्तर भएको थियो । प्रतियोगितामा २४ महिला सहभागी थिए ।