झापा । बंगलादेशमा जारी साफ यू १५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

 

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

 

नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

बंगलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोल अन्तरले हराएको थियो । अब नेपालले बुधबार भुटान र शुक्रबार पुनस् बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

 

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।