काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले कात्तिक ३० गते पाकिस्तानी राष्ट्रिय टोलीसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै फिफा डेमा हुन लागेको फिफाद्वारा मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल दशरथ रंगशालामा फ्लड लाइटमा साँझ ५ बजे सुरु हुने बताएका छन् ।
यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेश राष्ट्रिय टोलीसँग असोज ११ गते दशरथ रंगशालामै मैत्रीपूर्ण खेल खेलको थियो । पाकिस्तानसँगको खेलको लागि नेपाली राष्ट्रिय टोली प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा रहेको छ ।
पाकिस्तानको राष्ट्रिय टोली कात्तिक २७ गते नेपाल आइपुग्ने एन्फाले जनाएको छ । पाहुना टोलीका लागि एन्फाले होटल हायात प्यालेसमा बसोबासको प्रबन्ध गरिसकेको छ ।
खेलको लागि साधारण पारापिटतर्फ ५ सय र भीआइपीपारापिटतर्फ १ हजार टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । संघले खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रालिलाई दिएको छ ।