झापा । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।

 

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।

 

खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए । कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा इनरले सहजै गोल गरे ।

 

त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो। त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।

 

विश्वकपमा भ्यालेन्सियाको यो पाँचौं गोल हो । भ्यालेन्सिया विश्वकपमा इक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । त्यसबाहेक दुबै टोलीले दोस्रो हाफमा गोलको अवसर पाएका थिए । तर, दुबै टोलीले सदुपयोग गर्न सकेनन् ।

 

यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । यसअघि कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन ।