झापा (एजेन्सी) । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपका पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनकै पेनाल्टी गोलको सहयोगमा पोर्चुगलले दोस्रो हाफमा ५ गोल भएको सनसनीपूर्ण खेलमा बिहीबार अफ्रिकी मुलुक घानालाई ३-२ ले पराजित गर्दै विश्वकप २०२२ मा सुखद सुरुआत गरेको छ ।

 

कन्टेनरले बनाइएको ९७४ रंगशालामा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै ६५ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए । जसले उनलाई विश्वकपका पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनायो । यसअघि उनले सन् २००६ (जर्मनी), २०१० (दक्षिण अफ्रिका), २०१४ (ब्राजिल) र २०१८ (रुस) मा गोल गरेका थिए ।

 

उनले चार संस्करणमा गोल गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसी, जर्मनीका मिरोस्लाभ क्लोज, ब्राजिली लिजेन्ड पेले र जर्मनीका उवे सिलरलाई उछिन्दै कीर्तिमान बनाएका हुन् । घानाविरुद्धको गोल विश्वकपमा रोनाल्डोको आठौं गोल हो ।

 

यसक्रममा १८ खेल खेलेका उनले विश्वकपको पहिलो गोल पनि पेनाल्टीमै गरेका थिए । उनले इरानविरुद्ध २-० को जितमा उक्त गोल गरेका थिए । ३७ वर्षीय उनी पुरुषको अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलकर्ता पनि हुन् । उनले १ सय १८ गोल गरेका छन् । युरो २०१६ को उपाधि विजेता उनी सम्भवतः अन्तिमपल्ट विश्वकप खेल्दैछन् र यसमा उनी स्टार खेलाडीले भरिएको आफ्नो टिमलाई विश्वविजेता बनाउन चाहन्छन् ।

 

समकक्षी कप्तान आन्द्रे आयवले ७३ औं मिनेटमा गोल गर्दै घानालाई १-१ को बराबरीमा पुर्याएका थिए । जाओ फेलिक्सले उत्कृष्ट फिनिसिङ गर्दै ७९ औं मिनेटमा पोर्चुगललाई २-१ ले अगाडि बढाए । राफेल लियोले सेकेन्ड बार च्याप्दै ८०औं मिनेटमा गोल गरेपछि पोर्चुगलले ३–१ ले अघि बढ्दै जितउन्मुख भएको थियो । दुवै गोलमा ब्रुनो फर्नान्डेजले बल उपलब्ध गराएका थिए ।

 

दुई गोलले पछाडि परे पनि युरोपेली क्लबमा आबद्ध खेलाडीले भरिएको घानाले संघर्ष गर्न छाडेन । ओसमन बुकारीले ८९औं मिनेटमा गोल गर्दै ‘ब्ल्याक स्टार्स’ को अंक जोड्ने आशालाई कायमै राखेका थिए । घानाले नौ मिनेट थपिएको इन्ज्युरी समयको अन्तिम क्षणमा बराबरी गर्ने अवसर पनि पायो । तर, पेनाल्टी क्षेत्रमा इनाकी विलियम्सले प्राप्त अवसरमा प्रहार गर्न सकेनन् । गोलकिपर डिएगो कोस्टाबाट बल खोसेर पनि प्रहार गर्ने बेला विलियम्स चिप्लिएपछि घानाको अंक जोड्ने चाहना अधुरै रह्यो ।