इलाम । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा जलथल फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार भएको खेलमा कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङलाई २-० गोल अन्तरले पराजित गर्दै जलथल झापाले सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

 

जलथल झापाको जितमा कर्ण लिम्बू र सन्देश भुजेलले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको दोस्रो हाफको १०औं मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले गोल गदै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा सन्देश भुजेलले गोल गर्दै झपालाई २-० को जित दिलाए ।

 

खेलको म्यान अफ दि म्याच झापाका सुशील राई घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबार चारतारे युवा क्लब मोरङ र तिजोग युवा क्लब पाँचथरबीच खेल हुनेछ । प्रतियोगितामा इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि ८ क्लबको सहभागिता रहेको छ ।

 

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

 

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।