पोखरा । हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले सम्झौता पत्र आदानप्रदान गरे । प्रतियोगिताको मुख्य प्रायोजक प्रालिले क्लबलाई बार्षिक रुपमा पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नेछ ।

 

प्रालिले अतिरिक्त आन्तरिक खर्चबापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख रुपैयाँ क्लबलाई प्रदान गर्नेछ । उद्योगपति स्व सूर्यबहादुर केसीको पहल तथा सक्रियतामा २०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षे सम्झौता सुरु भएको थियो ।

 

२०६९ देखि ०७८ सम्म दोस्रोपटक आहा-रारा गोल्डकप नामाकरण १० वर्षे करार सम्झौता भएको थियो । तेस्रो पटक १० बर्षे सम्झौता भएसंगै प्रतियोगिताको २२औं संस्करणदेखि २०८८ सालसम्म आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट प्रतियोगिता सञ्चालन हुनेछ ।

 

कार्यक्रममा बोल्दै प्रालिका निर्देशक प्रकाश केसीले खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लबलाई सहयोग गदै आइरहेको बताए । अर्का निर्देशक किरण केसीले आफ्ना बुबाले गरेको कार्यलाई निरन्तरता दिएको बताए ।

 

क्लबका अध्यक्ष गुरुङले प्रालिले तीन दशकसम्म निरन्तररुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गरेको भन्दै धन्यवाद दिए । सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले यस्ता प्रतियोगितालाई राज्यस्तरबाट पनि पहल हुनपर्ने बताए । प्रतियोगिताको २२औं संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने छ । खेलापटीबाट