माङसेबुङ (इलाम) । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३-० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले फाइनलमा स्थान पक्का बनाएको हो ।

 

जितसँगै छथर तेह्रथुमले उपाधिका लागि फाइनलमा तिजोक युवा क्लब पाँचथरसँग भेट पक्का गरेको छ । तेह्रथुमको जितमा मिलन लिम्बूले २ गोल गरे । यस्तै प्रवेश बस्नेतले १ गोल गरे ।

 

खेलको तेस्रो मिनेटमा नै प्रवेश बस्नेतको गोलमा छथर तेह्रथुमले अग्रता लिएको थियो । त्यसपछि मध्यान्तरअघि नै खेलको २२औं मिनेटमा मिलन लिम्बूले गोल गर्दै २-० को अग्रता दिलाएका थिए । यस्तै, उनैले खेलको दोस्रो हाफको २३ मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै तेह्रथुमलाई ३-० को जित दिलाए ।

 

खेलको म्यान अफ दि म्याच छथर तेह्रथुमका प्रवेश बस्नेत घोषित भए । कर्ण लिम्बूको कप्तानीमा मैदानमा उत्रेको झापाली टिमले थुप्रै गोल गर्ने अवसरहरु प्राप्त गरे पनि गोल गर्न नसक्दा नतिजा तेह्रथुमलाई सुम्पिन्नु परेको थियो ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कपको उपाधिका लागि शनिबार तिजोग फुटबल क्लब, पाँचथर र छथर गाउँपालिका तेह्रथुमबिच हुनेछ ।

 

फाइनल खेल मंसिर १७ गते हुनेछ । प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागिता रहेको थियो । विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार १६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

फुटबलका अतिरिक्त म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, करातेलगायतका खेलहरु आयोजना हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले जानकारी दिएकी छन् ।