माङसेबुङ (इलाम) । इलामको माङसेबुङमा आयोजित १५औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका तेह्रथुमले जितेको छ । शनिबार इलामको माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा भएको फाइनल खेलमा तिजोग युवा क्लव पाँचथरलाई २-० गोलअन्तरले पराजित गर्दै छथर गाउँपालिकाले उपाधि कब्जा गरेको हो ।

 

जितसँगै तेह्रथुमले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता पाँचथरले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ ।

 

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९औं जन्मोत्सवको अवसरमा आत्मा पवित्र हक्चात यक्चुमले आयोजना प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो ।

 

प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलाम, एचएफसी सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कणर्सिं सोनाम एफसी ताप्लेजुङ, तिजोग युवा क्लब पाँचथर, चारतारे युवा क्लब मोरङ, जलथल एफसी झापा र भारतको दार्जिलिङबाट एमएफसी सहभागी थिए ।

 

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन आयोजना गरिएको थियो । म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन भएका थिए ।

 

२०६५ सालमा धर्मगुरु लिङदेनको ५५औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशिबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशि यसवर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।