बिर्तामोड । इलामको रेडहर्ष एफसी र सुनसरीको धरान सिटी एफसी यहाँ जारी एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कपको उपाधि भिडन्तमा आज प्रतिस्पर्धा गर्दै छन् । खेल डाेमालाल राजवंशी रंगशालामा हुनेछ ।

 

उपाधिको दाबेदार मानिएको ललितपुरको सुनाकोठी सिटी एफसीलाई ३-२ गोलले पराजित गर्दै इलामको रेडहर्ष एफसी फाइनलमा प्रवेश गरेको हो । ए डिभिजन लिग खेलिसकेका र केही राष्ट्रिय खेलाडीको साथ पाएको इलामले सुनाकोठीलाई पहिलो सेमिफाइनलमा पराजित गरेको हो ।

 

यस्तै, इलामले पहिलो आफ्नो खेल तथा प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मोरङको डाँगीहाट एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । दुवै खेलमा उत्कृष्ट पुनरागमन गर्दै इलामले जित दर्ता गरेको थियो ।

 

यसैगरी, आयोजक बिर्तामोड युनाइटेड एफसीलाई अन्तिम सेमिफाइनलमा रोक्दै धरानले फाइनलमा स्थान बनाएको थियो । निर्धारित खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दा निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

 

टाइब्रेकरमा बिर्तामोडका आशिष चापागाई र अभिषेक गुरुङ चुक्दा धरानले बाजी मारेको हो । पहिलो खेलमा धरानले एपीएफ पकली सुनसरीलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

 

फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ ।