पोखरा । अमेरिकाको भुटनिज युथ सकर क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै भुटनिज युथले अन्तिम चारको यात्रा तय गरेको हो ।

 

६ पटकसम्मकाे संस्करणा विजेता टाेली मनाङ २२औं संस्करणकाे पहिलाे चरणकाे खेलबाटै बाहिरिएकाे छ । मनाङले भुटनिज युथविरूद्ध साेचेजस्ताे अवसर सिर्जना गर्न भने सकेन । भुटनिज युथले पटक पटक मनाङकाे गाेलपाेस्टमा अवसर सिर्जना गरे पनि अग्रता दाेब्बर बनाउन भने सकेन । मनाङका खेलाडीकाे प्रहार भुटनिज युथका गाेलकिपर पुजन थापामगरले विफल तुल्याइदिएका थिए ।

 

भुटनिजको जितमा प्रविन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए । विपक्षीको पेनाल्टी एरियामा पाएको बललाई उनले दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

 

खेलको म्यान अफ दी म्याच निर्णायक गोल गरेका प्रविण बस्नेत घोषित भए । उनले नगद ८ हजार पाए । यो खेलको समाप्तिपछि सेमी समिकरण पूरा भएको छ । भुटनिज युथले चर्च ब्वाइज एफसीसँग सेमिफाइनल खेल्नेछ ।

 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

 

 

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

 

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।