झापा । झापाको अर्जुनधारा नगरपालिकामा शुक्रबारदेखि प्रथम यु-१८ वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुदको माध्यमबाट समाजमा लागुऔषधविरुद्ध जनजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

 

शनिश्चरे फुटबल क्लबको आयोजनामा अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

 

प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा ४ लाई सडनडेथमा ५-४ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ८ विजयी भएको छ । निर्धारित समयको खेलमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट भएको थियो । उद्घाटन खेलका उत्कृष्ट खेलाडी पराजित अर्जुनधारा ४ का पारस तामाङलाई अर्जुनधारा १० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले एकजोर बुट हस्तान्तरण गरेका थिए ।

 

भोलि (शनिबार)को खेल अर्जुनधारा १ र अर्जुनधारा २ बीच हुने समितिका सचिव पेमा तामाङले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमशः तीस हजार र २० हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।

 

प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष नीरबहादुर कार्कीले र कार्यक्रमको सञ्चालन सुनिल थापा मगरले गरेका थिए ।