खाम्लालुङ, (तेह्रथुम) । आठराई गाउँपालिका २ स्थित कालिका माविको खेलमैदानमा आयोजित गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९को पुरुष फुटबलको उपाधि आठराई गाउँपालिकाको ए टिमले चुमेको छ । निघुरादिन स्पोर्टिङ क्लबलाई सडन डेथमा पराजित गर्दै आठराईले उपाधि रक्षा गरेको हो ।

 

खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय लिन सोझै टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि निर्णय सम्भव नभएपछि सडनडेथमा आठराईले ४-३ गोलबाट बाजी मारेको हो ।

 

आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार पाएको छ भने उपविजेताले नगद १ लाखमा चित्त बुझाएको छ ।

 

यसैगरी, गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९को महिला फुटबलको उपाधि मुनाल युथ क्लब फेदाप जलजलेले चुमेका छ । झापाको शिवसताक्षी नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै फेदाप जलजलेले उपाधि रक्षा गरेको हो ।

 

खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । खेलमा पहिलो गोल शिवसताक्षीले गरे पनि अन्तिम केही मिनेट सम्हालिन नसक्दा फेदापले बराबरी गोल गरेको हो ।

 

खेलको १८औँ मिनेटमा शिवसताक्षीकी अविना राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा फेदापले बराबरी गोल फर्कायो । उसका लागि सविता लिम्बूले गोल गरेकी थिइन् ।