अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा १ र ८ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा मंगलबार सम्पन्न खेलमा अर्जुनधारा १० लाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जुनधारा १ सेमिफाइनलमा पुगेको हो । अर्जुनधारा १ को जीतको लागि खेलको १२औं, ५४औं र ६२औं मिनेटमा प्रविन विश्वकर्मा, सुनिल लोहार र सचिन सारुमगरले गोल गरेका थिए ।

 

खेलका उत्कृष्ट खेलाडी विजयी टिमका प्रविन विश्वकर्मालाई अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, ३ का वडाध्यक्ष सीताराम भट्टराई, १० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेलगायतले एक जोर बुट हस्तान्तरण गरे ।

 

यस्तै, अर्जुनधारा ८ ले ११ नम्बर वडालाई टाइब्रेकरमा पराजित गर्दै सोमबार सेमिफाइनलमा प्रवेश गरेको थियो । ८ नम्बर वडाले ४-३ गोलअन्तरले ११ नम्बर वडालाई पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

 

निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । खेलको उत्कृष्ट खेलाडी विजयी टिमका करण भुजेललाई दाता ख्यामदल राई, अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीले एक जोर बुट हस्तान्तरण गरेका थिए ।