अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकामा जारी यु १८ वडास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको छ । स्थानीय अर्जुनधारा खेलमैदानमा वडा नम्बर ६ लाई ३-२ गोलले पराजित गर्दै ८ ले फाइनलमा स्थान बनाएको हो ।

 

खेलको १३औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अर्जुनधारा ८ का लागि कप्तान निखिल तामाङले पहिलो गोल गरेका थिए । २५औँ मिनेटमा अर्जुनधारा ६ ले पनि पेनाल्टीमार्फत नै बराबरी गोल गरेको थियो । जसमा इश्वर मेचेले सहजै गोल गरेका थिए ।

 

३५औं मिनेटमा कप्तान निखिल तामाङले फ्रिकिकमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । ३७औं मिनेटमा समिर हेमरनले थप एक गोल गरेपछि अर्जुनधारा ८ ले खेलमा ३-१ को स्थान बनाएको थियो ।

 

६४औं मिनेटमा अर्जुनधारा ८ का खेलाडी डेनियल हेमरनले गोल पोष्टमा विपक्षीले गरेको प्रहारलाई हातले रोकेपछि रेड कार्ड पाउँदै मैदान बाहिरिए । हेमरनले फाउल गरेपछि अर्जुनधारा ६ ले पुनः पेनाल्टी पाउँदै इश्वर मेचेले गोलअन्तर ३-२ मा फर्काएका थिए ।

 

फइनलमा प्रवेश गरेको अर्जुनधारा ८ ले आज हुने अर्जुनधारा १ र अर्जुनधारा ७ को विजेतासँग फाइनल प्रतिस्पर्धा गर्नेछ ।

 

खेलको म्यान अफ दी म्याच समिर हेमरन भए । उनलाई अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीले एक जोर बुट हस्तान्तरण गरे । शनिश्चरे फुटबल क्लबको आयोजना र अर्जुनधारा नगरपालिका ७ र ८ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ

 

खेलाडी उत्पादन र छनोट गर्ने उद्देश्यका साथ जारी प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छन् ।