अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यु १८ वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा १ र अर्जुनधारा ६ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा ७ लाई २-१ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा १ ले उपाधिका लागि अर्जुनधारा ६ सँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
अर्जुनधारा १ को जीतका लागि खेलको चौथो र ४९औं मिनेटमा युगल राई र गणेश गजमेरले १-१ गोल गरेका थिए । त्यसैगरी पराजित टिमका लागि खेलको ५५औं मिनेटमा दलबहादुर अधिकारीले एक गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका खेलाडी सविन योङहाङलाई सामाजिक व्यक्तित्व सुरेन्द्र धिमालले एक जोर बुट हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल आज आइतबार दिँउसो ३ बजे हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
८ नम्बर वडा कार्वाहीमा
गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित दर्ता गर्दै फाइनल प्रवेश गरेको अर्जुनधारा ८ को टोली कार्बाहीमा परेको छ । अर्जुनधारा ८ कार्वाहीमा परेपछि अर्जुनधारा ६ ले फाइनलमा स्थान सुरक्षित गर्यो ।
उमेर समूहभन्दा बढीको एक जना खेलाडीलाई खेलमा सहभागी गराएको पुष्टि भएपछि शनिबार सम्पन्न आयोजक समितिको बैठकले अर्जुनधारा ८ लाई कार्वाही गर्ने निर्णय गरेसँगै अर्जुनधारा ६ ले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।