बागमती । साविक विजेता हेटौंडाको पिप्ले युथ क्लबलाई रोक्दै ललितपुरको जावलाखेल युथ क्लब यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दुईपटकको विजेता टोली पिप्लेलाई ३-२ गोलअन्तरमा रोक्दै जावलाखेलले अन्तिम चारमा स्थान बनाएको हो ।

 

पहिलो हाफको १५ मिनेटमै जावलाखेलले सुरुवाती अग्रता बनाएको थियो । उसका लागि विशाल तामाङले आकर्षक गोल गरेका थिए । तर, दोस्रो हाफमा ४ गोल सम्भव भएको थियो ।

 

खेलको ७१औँ मिनेटमा गोल फर्काउँदै पिप्लेका विश्व लामाले खेललाई बराबरीमा ल्याइपुराएका थिए । परिवर्तित खेलाडी लामाको गोलसँगै खेलमा फर्किने प्रयास गरेको पिप्लेको खुसी २ मिनेट नबित्दै जावलाखेलले पुनः अग्रता दोब्बर बनायो ।

 

खेलको ७३औँ मिनेटमा जावलाखेलका विनोद केसीले गोल गर्दै २-१ गोलको अन्तर निकालेका थिए । खेलको अन्त्यतिर १ मिनेटभित्र २ गोल सम्भव भएको थियो । ९५औँ मिनेटमा जावलाखेलका हिसुव थपलियाले पिप्लेका गोलरक्षक अशोक बरालसँग वान भर्सेज वानमा आकर्षक गोल गरेर ३-१ को नतिजा निकालेका थिए ।

 

लगत्तै पिप्लेले पाएको फ्रिकिकमा डोना थापाले सम्झनलायक गोल गरेर गोलअन्तर कम गरे पनि जितका लागि समय अभाव थियो । अन्ततः दुई पटकको विजेता पिप्ले पहिलो खेलमै बाहिरिन पुगेको छ ।

 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका कप्तान सिमान्त थापा म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार र उपहार पाए । भोलि (सोमबार) सुदूरपश्चिम ११ धनगढीले चर्च ब्वाइज युनाइटेड ललितपुरसँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

 

प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ । हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए ।

 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।