बागमती । काठमाडौँको संकटा क्लब यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमराको एनजेजेवाईसीमाथि ३-० गोलको शानदार जित निकाल्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो ।
बाइ पाएर सोझै क्वाटरफाइनल खेलेको संकटाका लागि आयुश घलान, गणेश हमाल र मनिष डाँगीले गोल गरेका थिए । खेलको पहिलो मिनेटमै रोशन पहारीले सिमराको गोलपोस्टमा आक्रमण गरेका थिए । गोलरक्षक रोहन मगरले मुस्किलले बचाएका थिए ।
एकोहोरो दबाब सिर्जना गरेको संकटाले खेलको ३६औँ मिनेटमा गोलको खाता खोलेको थियो । जसमा आयुश घलान भाग्यमानी बने । यस्तै, गणेश हमालले ४३औँ मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए ।
खेलको म्यान अफ दी म्याच बनेका मनिष डाँगीले खेलको ५८औँ मिनेटमा आकर्षक गोल गरेर ३-० गोलको अन्तर निकाले । एक गोलमा एसिस्ट गरेका मनिषले म्यान अफ दी म्याच बनेवापत नगद १० हजार र गिफ्ट ह्याम्पर पाए ।
सिमराले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा घर फर्किएको छ । सिमराको केही प्रहार क्रस बारमा लाग्दै बल भित्रिंदा संकटासँग हार ब्यहोर्न बाध्य हुनु परेको थियो ।
भोलि (बुधबार) आयोजक बागमती युवा क्लब सर्लाहीले काठमाडौँको मच्छिन्द्र एफसीसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।
हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।