बागमती । आयोजक बागमती युवा क्लब सर्लाहीलाई रोक्दै ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र एफसी यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।
सी डिभिजनमा छनोट भएको आयोजकमाथि जित निकाल्न मच्छिन्द्रले टाइब्रेकर पर्खिनु परेको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५-३ गोलले आयोजकलाई स्तब्ध बनाएको हो । निर्धारित ९० मिनेटको खेलमा अग्रता भने आयोजकले लिएको थियो ।
खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा आयोजकले मच्छिन्द्रसँग बराबरी खेल्न बाध्य बन्यो । मच्छिन्द्रमा एकोहोरो दबाब सिर्जना गरेको आयोजकका लागि राज भुसालले सुरुवाती गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा आकर्षक गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफको अन्त्यतिर मच्छिन्द्र लयमा फर्किएको थियो । यसअघि आयोजकले पाएको थुप्रै प्रहार खेर जाँदा घरेलु मैदानमा स्तब्ध बन्नु परेको थियो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याइपुराएका हुन् ।
खेलको अन्त्यतिर कमब्याक गरेको मच्छिन्द्रले ८०औँ मिनेटमा पाएको कर्नरमा देवेन्द्रले हेडरमार्फत गोल गरेका हुन् । ए डिभिजनका खेलाडीलाई चुनौती प्रस्तुत गरेको सी डिभिजनमा छनोट भएको क्लबले ११० मिनेटको खेलमा थप गोल गर्न सकेन ।
टाइब्रेकरमा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले आयोजकका दावा गुरुङको प्रहार रोकेका थिए । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठ, विमल घर्तीमगर, देवेन्द्र तामाङ, पुजन उपरकोटी र दिवाकर चौधरीको प्रहार गोलमा परिणत भएको थियो ।
आयोजकका लागि अमर श्रेष्ठ, कपतान सुमन चाम्लिङ राई र अभि लामाको प्रहारमात्र गोलमा परिणत भएको थियो । गतवर्षको संस्करणमा आयोजक हेटौंडाको पिप्ले युवा क्लबसँग सेमिफाइनलमा पराजित भएको थियो ।
यस्तै, मच्छिन्द्र पिप्लेसँग फाइनलमा पराजितहुँदै उपविजेतामा समेटिएको थियो । आजको खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ घोषित भए । उनले नगद १० हजार पाए ।
भोलि (बिहीबार) प्रतियोगिताको पहिलो सेमिफाइनल चिरपरिचित दुई प्रतिद्वन्द्वीबीच खेल हुनेछ । काठमाडौँको संकटा क्लबले ललितपुरको जावलाखेल युथ क्लबसँग प्रतिप्रस्र्धा गर्नेछ ।
प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।
हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।