बागमती । शानदार जित निकाल्दै मच्छिन्द्र एफसी काठमाडौँले यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पर्धी सुदूरपश्चिम ११ एफसीलाई ६-२ गोल फराकिलाे अन्तरले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।

 

उपाधिको दाबेदार मानिएको टोली मच्छिन्द्रले पहिलो हाफमा ४ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गर्यो । सुदूरपश्चिमले दोस्रो हाफमा २ गोल गर्दै गोलअन्तर घटाएको थियो । मच्छिन्द्र राजर्षि जनक कपमा दोस्रो पटक फाइनलमा पुगेको हो । गतवर्षको संस्करणमा पिप्ले युथ क्लब हेटौंडासँग पराजितहुँदै मच्छिन्द्र उपविजेतामा समेटिएको थियो ।

 

मच्छिन्द्रका लागि विमल घर्तीमगर, देवेन्द्र तामाङ, पुजन उपरकोटी, विजय भुजेल, दयानन्द सिंह र दिपेश घलेले समान १-१ गोल गरे भने सुदूरपश्चिमका लागि फागुराम थारु र भरत टमाटाले गोल गरेका हुन् ।

 

खेलको ७औँ मिनेटमै मच्छिन्द्रका दयानन्दले विमलको हेडर पासमा उत्कृष्ट गोल गरेर अग्रता दिलाएका थिए । विजय भुजेलले १३औँ मिनेटमा थप गोल गरेर अग्रता दोब्बर बनाए ।

 

पहिलो हाफकै ३७औँ मिनेटमा पाएको फ्रिकिकमार्फत देबेन्द्र तामाङ उत्कृष्ट गोल गरे । करिब ३० यार्डको दूरीबाट देवेन्द्रको प्रहारले सिधै जाली चुमेको थियो । यस्तै, ४०औँ मिनेटमा पुजन उपरकोटीले गोल गर्दै ४-० गोलको फराकिलो नतिजा निकाल्न सफल भए ।

 

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको सुदूरपश्चिमले खेलको ५२औँ मिनेटमा पाएको पेनाल्टीमार्फत गोलअन्तर कम गर्ने मौका पायो भने ६३औँ मिनेटमा दिपेश घलेले गोल गर्दै ५-१ को नतिजा निकाले ।

 

यस्तै, सुदूरपश्चिमका भरत टमाटाले ६८औँ मिनेटमा गोल गरेर फराकिलो नतिजालाई घटाउने प्रयास गरे पनि ८६औँ मिनेटमा विमल घर्तीमगरले गोल गरेर ६-२ गोलअन्तरमा ल्याइपुर्याए । खेलको म्यान अफ दी म्याच विमल घोषितहुँदै नगद १० हजार पाउन सफल भए ।

 

प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ । आजको विजेता मन्छिन्द्रले चिरपरिचित प्रतिद्वन्द्वी ललितपुरे टोली जावलाखेल एफसीसँग उपाधिका लागि भिड्ने छ ।

 

बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।

 

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।