काठमाडौं । मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । यो सिजनमा मच्छिन्द्रको दोस्रो उपाधि हो । यसअघि मच्छिन्द्रले सर्लाहीमा राजर्षि जनक कपको उपाधि जितेको थियो ।

 

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।

 

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो । पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।

 

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

 

पेनाल्टी अघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १८औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

 

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसीसहित ८ टोलीको सहभागिता रहेको थियो ।

 

प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी ओली एफसीलाई हराएको थियो । सातदोबाटोलले आर्मीलाई हराएको थियो । हिजोमात्र मच्छिन्द्र प्रथम भद्रपुर झापा गोल्डकपमा त्रिभुवन आर्मी एफसीसँग पराजितहुँदै उपविजेतामा समेटिएको थियो ।