बिर्तामोड । बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा कचनकवल गाउँपालिकाको बगान युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

झापाको बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगितामा दमकको रोयल स्पोर्टिङ क्लबलाई ६-२ गोलअन्तरले पराजित गर्दै कचनकवलको बगान युथ क्लबले अन्तिम चारमा स्थान बनाएको हो । सुरुवाती अग्रता भने दमकले बनाएको थियो ।

 

खेलको ११औँ मिनेटमा दमकका गौरव धिमालले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १९औँ मिनेटमा बगान युथका लागि अनुज क्षेत्रीले गोल गर्दै खेलललाई बराबरीमा ल्याएका थिए ।

 

यस्तै, उनैले २४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाए । तर, धेरै पटक ह्याट्रकि गर्ने दाउमा रहेका अनुजले थुप्रै अवसर भने गुमाएका थिए ।

 

यसैबीच, बगानका निवाङ लिम्बूले खेलको ३८औँ, रोमन भुजेलले ५८औँ र विशाल दर्जीले ७३औँ मिनेटमा गोल गरेर फराकिलो अन्तर निकालेका थिए ।

 

दमकका लागि गौरव धिमालले व्यक्तिगत २ गोल गरेका थिए । खेलको ११औँ मिनेटमा गोल गर्दै कचनकवलको बगानसँग बराबरी गोल गरेका थिए । तर, थप गोल गर्न नसकेपछि पहिलो हाफमा ४१ गोलअन्तरको नतिजा बनाएको थियो ।

 

यसैगरी, उनैले खेलको ६९औँ मिनेटमा गोल गर्दै गोलअन्तरको दूरी घटाउने प्रयास गरे पनि जित भने सम्भव भएन । अन्ततः कचनकवलसँग ६-२ गोलअन्तरमा हार स्वीकार्न दमक बाध्य बन्यो ।

 

खेलको म्यान अफ दी म्याच कचनकवलका दुई गोलकर्ता अनुज क्षेत्री बने । उनले नगद २ हजार पाए । बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

 

भोलि (सोमबार) डिएफसी बाहुनडाँगी र युथ अफ खुदुनाबारी अर्जुनधाराबीच खेल हुनेछ । बुट्टाबारी युनाइटेड क्लबका अध्यक्ष हिमाल कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्को प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।