बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा कचनकवलको बगान युथ क्लब फाइनलमा प्रवेश गरेको छ । साविक विजेता बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा रोक्दै बगान युथले फाइनल यात्रा तय गरेको हो ।

 

निर्धारित ७० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमै खेल टुंगिएको थियो ।

 

निकै प्रतिस्पर्धात्मक खेलमा बगान युथ टाइब्रेकरमा भाग्यमानी सावित बन्यो । बगान युथका गोलरक्षक सन्दिप लिम्बूले बिर्तामोडका शक्ति राईको प्रहार रोकेका थिए । यस्तै, निशान लामाका्े प्रहार बाहिरिएको थियो ।

 

अन्ततः बिर्तामोडले ४-२ गोलअन्तरमा बगान युथलाई खेल सुम्पियो । बिर्तामोडका लागि विक्रम तामाङ र रिजन गुरुङको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

 

फाइनल यात्राका लागि बगान युथका विशाल दर्जी, रोमन भुजेल, प्रदिप बुढाथोकी र निवाङ लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । जितसँगै बगान युथले कम्तिमा ५५ हजार ५५५ रुपैयाँ सुरक्षित गरेको छ ।

 

अब उपाधि भिडन्तका लागि अर्जुनधाराको युथ अफ खुदुनाबारीसँग बगान युथले शनिबार प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दी म्याच बगान युथका गोलरक्षक सन्दिप लिम्बू घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ र बिर्तामोड ६ वडाध्यक्ष सूर्य कन्दङ्वाले नगद २ हजार र ट्रफी प्रदान गरे ।

 

बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउनेछ ।