नेपालटार (इलाम) । इलामको नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगितामा बुधबारको खेलबाट जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । हेलिबोथले देउमाई युनाइटेड युथ क्लबलाई पराजित गरेको हो ।

 

आज भएको अन्तिम सेमिफाइनल खेलमा देउमाई युनाइटेडलाई ४-२ गोलअन्तरले पराजित गर्दै हेलिबोथले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । हेलिबोथले पहिलो हाफमै २-० गोलको अग्रता बनाएको थियो ।

 

उसका लागि दुवै गोल विदेशी खेलाडी नेपोलियन योले गरेका हुन् । खेलको ११औँ मिनेटमै नेपोलियनले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले २५औँ मिनेटमा थप गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

 

खेलको ५८औँ मिनेटमा हेलिबोथकै प्रकाश राईले गोल गरेर ३-० गोलको फराकिलो अन्तर निकाले । यसैबीच, देउमाई युनाइटेडका लागि प्रविन राई (बी)ले खेलको ६९औँ मिनेटमा गोल गर्दै गोलअन्तर दूरी कम गरेका थिए ।

 

यस्तै, देउमाई युनाइटेडकै लागि विकाश थुलुङले आकर्षक हेडमार्फत गोल गरेर खेललाई ३-२ को स्थितिमा ल्याएका थिए । खेलको ७१औँ मिनेटमा पाएको फ्रिकिकमा विकासले हेडमार्फत गोल गरेका थिए ।

 

खेलको अन्त्यतिर फेरि हेलिबोथका सूर्य टुडुले गोल गरेर खेललाई ४-२ गोलको स्थितिमा पुराए । उनले खेलको ७३औँ मिनेटमा गोल गरेका हुन् । उनको प्रहारले जाली चुम्दा देउमाई युनाइटेडका गोलरक्षक दिपांशु राउतले कुनै मौकै पाएनन् ।

 

खेलको म्यान अफ दी म्याच हेलिबोथका विदेशी खेलाडी नेपोलियन बने । उनले आजको खेलमा दुई गोल गरे भने यसअघिको खेलमा पनि दुई गोल गर्दै व्यक्तिगत ४ गोल गरिसकेका छन् ।

 

उनलाई ग्लोबल आईएमई बैंकको तर्फबाट नगद ५ हजार प्रदान गरियो । साखेजुङ खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

 

फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी इलाम नगरपालिकासँग हेलिबोथ एफसीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ ।