इलाम । तेस्रो सन्दकपुर आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सन्दकपुर गाउँपालिका ३ देउरालीस्थित सात खाल्डे सहिद खेलमैदानमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

 

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

 

आयोजक समितिका उपाध्यक्ष सुरेश बुर्जा मगरका अनुसार उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।

 

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४-४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष मगरले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगितामा इलाम, ताप्लेजुङ, झापा र ललितपुरका ८ टिमको सहभागिता रहने छ । जसमा इलामको आयोजक टिम, रेड हर्ष एफसी, फिक्कल युनाइटेड एफसी, नव प्रयास युवा क्लब फुङ्लिङ्ङ नगरपालिका ताप्लेजुङ, झापाको बिर्तामोड युनाइटेड एफसी, दमक युनाइटेड एकाडेमी, बुट्टाबारी युनाइटेड क्लब र ललितपुरको सुनाकोठी एफसी रहेका छन् ।