इटहरी । सगरमाथा युथ क्लब विराटचोकले १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनलमा चर्च व्बाइज युनाईटेड क्लबलाई सडनडेथमा ६-५ ले हराउँदै सगरमाथाले उपाधि रक्षा गरेको हो ।

 

उपाधिसंगै सगरमाथाले नगद १० लाख रुपैया प्राप्त गरेको छ । उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्यो । यसअघि १२ औ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले उपाधि जितेको थियो ।

 

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि पेनाल्टी सुटआउट रोजिएको थियो । मनोज राईले पेनाल्टी सुटआउटमा गोल गर्न चुक्दा चर्च व्बाइजले सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाउन पुग्यो ।

 

सगरमाथालाई उपाधि दिलाउन कप्तान महेन्द्र कार्की, अविशेक लिम्बु, मेसुके ओलामाउ, स्टेफेन बिनोङ, राजिव लोप्चन र विवेक बर्माले गोल गरे । चर्चका फ्रयाङकलिन, कप्तान मिलन राई, रन्जित पाण्डे, बेम्पा र गोलरक्षक प्रिसोले गोल गरे ।

 

खेलको म्यान अफ दि म्याच चर्चका मौसम लिम्बु घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सगरमाथाका कप्तान महेन्द्र कार्की घोषित हुँदै नगद १ लाख रुपैया प्राप्त गरे ।

 

व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रहयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सगरमाथाका देव लिम्बु, उत्कृष्ट डिफेन्डर विशाल बस्नेत, उत्कृष्ट फरवार्ड स्टेफेन र उत्कृष्ट प्रशिक्षक याम गुरुङ घोषित भए । उनीहरुले जनही २० हजार रुपैया प्राप्त गरे ।

 

उत्कृष्ट मिडफिल्डर चर्चका मौसम लिम्बु र उदियमान खेलाडी राष्ट्रिय जागृतिका अशिम राई घोषित भए । मौसमले २० हजार र अशिमले ३२ इन्चको टेलिभिजन पाए । सर्वाधिक गोलकर्ता मछिन्द्रका कप्तान अफिज ओलावाले घोषित भए । ५ गोल गरेका उनले नगद ३० हजार प्राप्त गरे ।

 

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा गत चैत्र ४ गतेबाट संचालन भएको प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका ८ टोलीको सहभागिता रहेको थियो ।