धनगढी । थ्रीस्टार क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

 

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो । थ्री स्टारका लागि खेलको ५९औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् । खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दिपेश गुरुङ घोषित भए ।

 

यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यि दुई टोलीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ । प्रतियोगिता अन्तरगत सोमबार मनाङ मर्स्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

 

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।