बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा चैत दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । फुटसलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले चैत १७ र १८ गते फुटसल प्रतियोगिता हुने भएको हो ।
नगर खेलकूद समितिले सोमबार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी वडास्तरीय फुटसल प्रतियोगिता गर्ने जानकारी दिएको हो । समितिका अध्यक्ष विकास गिरीले बिर्तामोड नगरपालिकाका १० वटै वडाबाट फुटसल प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।
फुटसल प्रतियोगिता बिर्तामोड १ स्थित एप्सुलेट फुटसलमा हुनेछ ।अध्यक्ष विकास गिरीका अनुसार ४० मिनेटको प्रतियोगितामा बिजेता टिमलाई ५० हजार र उपबिजेता टिमलाई नगद २५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै म्यान अफ द म्याचका ९ जनालाई जनही दुई हजार एक सय रुपैयाँ प्रदान गरिने समितिका उपाध्यक्ष सन्तोष गुरुङले जाकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
बिहान ११ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले गर्ने बताइएको छ । वडाले खेलाडीहरु सिफारिस गर्ने बताउँदै अध्यक्ष गिरीले प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ३५ हजार खर्च हुने बताएका छन् । कार्यक्रमको सञ्चालन समितिका सदस्य विशाल अग्रवालले गरेका थिए ।
समितिले आगामी दिनमा सुपर सिक्स क्रिकेट, पब्जी र बास्केटबल प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको पनि समितिका सदस्य विशाल अग्रवालले जनाए ।