काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो । नेपालले पहिलोपटक भुटानसँग बराबरी खेलेको हो ।
खेलको ९०औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो । त्यसअघि खेलको १९औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । अंक तालिकमा नेपालले २ खेल खेलेर ४ अंक बटुलेको छ भने २ खेल खेलेर भुटान अंकरहित उपाधि दौडबाट बाहिरिएको छ ।
नेपालका लागि भुटान नौलो प्रतिद्वन्दी भने थिएन । नेपालले चिरपरिचित प्रतिद्वन्दी भुटानविरुद्ध १२ पटक खेलिसकेको थियो । नेपालले हालसम्म हार व्यहोर्नु नपरेको प्रतिद्वन्दी हो भुटान । नेपालले भुटानविरुद्ध १२ खेलमा १२ जित हासिल गरेको थियो ।
भुटानविरुद्ध नेपालले ३८ गोल गरेको छ । भुटानले नेपालविरुद्ध ५ गोल गरेको थियो । नेपालले सन् १९८४ को सेप्टेम्बर २० मा पहिलो पटक भुटानसँग खेलेको थियो ।
दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौंमा भएको खेलमा नेपाल ५-० ले विजयी भएको थियो । पछिल्लो पटक नेपालले भुटानसँग २०१८ सेप्टेम्बर ६ मा प्रतिस्पर्धा गरेको थियो ।
साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्थ्यो । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो ।
तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्ने तालिका रहेको थियो । भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्थ्यो । तर, लक्ष्य तुहिएको छ । पहिलो खेलमा भुटानलाई लाओसले २-१ ले हराएको थियो । नेपालविरूद्ध भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको थियो ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । उपाधि भिडन्तमा नेपाल र लाओस भिड्नेछन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।