विराटनगर । भारत केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ । पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको लुकाले विराटनगरको शहीद रंगशालामा मंगलबार राति भएको दोस्रो सेमिफाइनलबाट फाइनलमा स्थान बनाएको हो ।

 

उसले डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

 

निर्धारित र अतिरिक्त दुवै समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलपिकर सनफिर नायक रहे । उनले म्यान अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पनि पुरस्कार पाएका छन् ।

 

उनले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोकेका थिए । यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैँले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिए पछि लुकालाई जित्न सहज भयो ।

 

 

एपीएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गरेका थिए । लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए भने लुकाका क्यामुदिनको प्रहार भने एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।

 

प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँगै खेल्नेछ । फाइनल खेल बिहीबार हुनेछ । उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।