विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

 

सहिद रंगशालामा बिहीबार ६ः४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलोपटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोेपटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

 

विराटनगरले पूर्व विजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १-० गोलले र सेमिफाइनलमा जावलाखेललाई २-१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

 

यस्तै विराट गोल्डकपमा पहिलोपटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८-७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाइब्रेकरमा ४-२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

 

केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साविक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ ।

 

घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो । विराटनगर ६१औं वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ताले जितेको थियो ।

 

२०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि सातौ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । गतवर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलन खेलबाट विमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको छ ।

 

घरेलु टिमलाई फाइनलमा पु¥याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो ।

 

विराटनगरमा बधुबार प्रि-म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

 

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’

 

विराटनगर सिटीका कप्तान विशाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘लुका सकर राम्रो टिम हो । अग्ला कदका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘केरलाका अग्ला कदका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

 

नेपालमा पहिलो गोल्डकप खेल्न आएको लुका सकर केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ । लुका सकरका प्रशिक्षक नभास नोकाले फाइनलभन्दा अगाडि जसरी हाम्रो खेलाडीले खेल खेलेका थिए, त्यही अनुरुप फाइनल खेल्ने बताए ।

 

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले दाबी गरेका छन् । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने । राम्रो टोलीलाई जितेर फाइनल यात्रा गरेकाले उपाधि जित्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

केरलाका कप्तान अर्सादले हामीले उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौं,’ उनले भने ।

 

चैत ९ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको विजेताले २० लाख १५ हजार र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । विधागततर्फ जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।