बिर्तामोड । झापाको बिर्तामोडमा भोलि (शनिबार) हुन गइरहेको तेस्रो मि. ग्यालेक्सी बढिबिल्डिङ च्याम्पियन २०७९ का लागि २५ जना खेलाडी छानिएका छन् । आज भएको छनौट चरणबाट तौल समूहको प्रतिस्पर्धाका लागि उत्कृष्ट ५ जना खेलाडी छानिएका हुन् ।

 

बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेसले आयोजना गरेको तेस्रो संस्करणमा विभिन्न ५ वटा तौल समूहबाट उनीहरु छनौट भएका हुन् । जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट ५ ५ जना खेलाडी परेका छन् ।

 

निर्णायकका अनुसार ५५ केजी तौल समूहबाट पथरी फिटनेसका श्याम मरिक, फ्रि स्टाइल फिटनेसका प्रविन राजवंशी, ग्यालेक्सी फिटनेसका दिवश श्रेष्ठ, बिस्ट फ्याक्ट्रीका भरत शाह र स्मार्ट जिमका सरुकर सतार छानिएका छन् ।

 

यस्तै, ६० केजी तौल समूहमा इनर्जी फिटनेसका अमनकुमार शाह, पथरी फिटनेसका अजय मल्लिक, स्टार फिटनेसका महेश तामाङ, स्टारकै मनोज चौधरी र प्यूर मस्कल्स फिटनेसका चन्दन महासेठ चयन भएका छन् ।

 

६५ केजी तौल समूहबाट ब्रदर एण्ड सिस्टरका विनोद दनुवार, फिटनेस वल्र्डका रोनित कोइराला, न्युट्री हब फिटनेसका कमल तामाङ, स्टार बडी फिटनेसका दिलिपकुमार चौधरी र ग्यालेक्सी फिटनेसका हर्कबहादुर राई छानिएका छन् ।

 

७० केजी तौल समूहबाट यारो फिटनेसका सन्देश राई, झुनाज फिटनेसका पूर्ण तामाङ, त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो, तरहरा फिटनेसका नविन अधिकारी र स्ट्रेन्थ जिमका मनोज सुवेदी चयन भएका छन् ।

 

यसैगरी, ७५ केजी तौल समूहबाट एनी टाइम फिटनेसका सन्दिप गिरी, त्रिभुवन आर्मी क्लबका रमेश कार्की, ब्यालेन्स फिटनेसका प्रशिद्ध भक्त राजलवट, शिवशक्ति जिमका हेमन्त शाह र ग्यालेक्सी फिटनेसका रोशन राई छनोट भएका छन् ।

 

भोलि हुने तौल समूहका ५ जनाबाट पहिलो हुने खेलाडीले ओभर अल कम्पिटिसनमा प्रवेश पाउनेछ । जसमा ५ तौल समूहका अन्तिम ५ जना खेलाडीबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

 

तेस्रो संस्करणको च्याम्पियन बन्ने खेलाडीले नगद २ लाख र आकर्षक ट्रफी पाउने छ । यस्तै, दोस्रोले १ लाख २५ हजार, तेस्रोले ७५ हजार, चौथोले ५० हजार र पाँचौ बन्ने खेलाडीले नगद ३० हजार पाउने ग्यालेक्सी फिटनेसका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र लाफाले जानकारी दिए ।