इलाम । दमक फुटबल एकाडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमिफाइनलमा फिक्कलले दमकलाई ३-२ गोल अन्तरले हराएको हो ।

 

पहिलो हाफमा २-० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रह्यो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाएका थिए । २ मिनेट नबित्दै शेखरले अग्रता दोब्बर बनाए । ४५औँ मिनेटमा निश्चल बस्नेतले अग्रता घटाएका थिए ।

 

फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५औँ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सीमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३-१ बनाए । दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

 

जितसंगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच २ गोलकर्ता शेखर घोषितहुँदै नगद २ हजार प्राप्त गरे । दमकले आयोजक देउराली स्पोर्टिङ क्लब र फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

 

दोश्रो सेमिफाइनल खेलमा बुधबार बिर्तामोड युनाइटेड एफसी र बुट्टाबारी युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिर्तामोडले नवप्रयास ताप्लेजुङ र बुट्टाबारीले रेडहर्स इलामलाई हराउँदै सेमिफाइनल पुगेको हो । आगामी वेशाख १ गते फाइनल हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।

 

फाइनलअघि चैत्र ३० गते देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण खेल हुनेछ । त्यसैगरी इलाम भेट्रान र सन्दकपुर भेट्रान तथा जनप्रतिनिधि र राजनीतिक दलबीच मैत्रीपूर्ण खेल हुनेछ ।