शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा एकदिने भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडाको युवा तथा खेलकुद समितिको आयोजनामा शनिबार भएको प्रथम टोलस्तरीय भलिबल प्रतियोगितामा टोल नम्बर १ (बसपार्क) विजयी भएको छ ।

 

वडाको पाँच वटा टोल सहभागी भएको प्रतियोगिताको फाइनल खेलमा टोल नम्बर ४ (सालबारी)लाई २५-२१ र २५-१३ को सोझो सेटमा पराजित गर्दै टोल नम्बर १ (बसपार्क) प्रथम भएको हो ।

 

प्रतियोगिताको विजेताले नगद १० हजार उपविजेताले पाँच हजारसहित मेडल र प्रमाण पत्र पाएको छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी टोल नम्बर १ का मनू लिम्बूलाई नगद एक हजार पाँच सयसहित प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त नगद पुरस्कार वडा सदस्य केशव अधिकारीले सौजन्य गरेका थिए ।

 

प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीहरुलाई वडाध्यक्ष खगेन्द्र इङनाम, वडा सदस्य अधिकारी, महारानीगञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मनबहादुर लिम्बू, समितिका अध्यक्ष आशिष राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

समितिका अध्यक्ष राईको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।

 

सोही कार्यक्रममा पाँच वटा टोललाई समितिको तर्फबाट कराते, तेक्वान्दो, फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेट खेलका सामग्रीहरु वितरण गरिएको समितिका सचिव रुपक खतिवडाले जानकारी दिए । टोल नम्बर ३ का संयोजक नरेन्द्र खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन चन्द्र सुवेदीले गरेका थिए ।