शनिश्चरे । झापाको अर्जुनधारामा महिलाहरुलाई लक्षित गरी आयोजित १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । ८ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो ।
चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत वडास्तरीय योजना महिला लक्षित कार्यक्रमअन्तर्गत आयोजित उक्त तालिम महिलाहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए ।
वडाध्यक्ष उप्रेतीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, व्यवसायी गजेन्द्र पौडेललगायतले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रशिक्षार्थीद्वय आयुष भट्टराई र मञ्जुकुमारी दाहालले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा प्रशिक्षार्थी अन्तरिक्ष ढुङ्गेलले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय कञ्चनविन्दु खड्का र राजेश गिरीले गरेका थिए ।
प्रशिक्षकहरु अमित खम्बू, रमेश समदर्शी र सरोज पौडेलले प्रशिक्षण दिएको तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी रहेको वडा सचिव एवम् तालिम संयोजक प्रकाश पौडेलले जानकारी दिए ।