शनिश्चरे । झापाको अर्जुनधारामा क्लबस्तरीय १८ वर्षमुनि (यु-१८) को फुटबल प्रतियोगिता हुने भएको छ । अर्जुनधारा ८ स्थित हात्तीकिल्ला एफसीको आयोजनामा जेठ १० गते (भोलि)देखि प्रतियोगिता हुने भएको हो ।

 

आयोजकले अर्जुनधारा ८ स्थित चन्द्रोदय आधारभूत विद्यालयमा आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा अर्जुनधारा, बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका ८ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कुमार कार्कीले बताए ।

 

उनका अनुसार बिर्तामोडका ४ टिम, अर्जुनधारा र बुद्धशान्तिका २-२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउने आयोजक क्लबका सचिव विष्णु श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार उपविजेताले नगद १५ हजार पाउने छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय र उत्कृष्ट रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ता बन्ने खेलाडीले जनही नगद १ हजार ५ सय पाउने सचिव श्रेष्ठले बताए । उनका अनुसार खेलको म्यान अफ दी म्याचलाई पनि नगद पुरस्कार राखिएको छ ।

 

खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नाराका साथ आयोजित प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार खर्च हुने आयोजक क्लबका उपाध्यक्ष हिमाल पुरीले सुनाए ।

 

स्थानीय खेलप्रेमी दाता, वडा तथा नगरको सहयोगबाट सम्पन्न हुने प्रतियोगिताको उद्घाटन अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीले गर्ने भएका छन् । पत्रकार सम्मेलनमा वडा सदस्य ऋषि घिमिरेले आफ्ना भनाइ राखेका थिए ।

 

फाइनल खेल जेठ १५ गते हुने प्रतियाेगिताकाे उद्घाटनमा आयोजक हात्तीकिल्ला एफसीले मैदान एफसी बिर्तामाेडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, दाेस्राे खेल जयपुर एफसीले न्यू स्टार क्लब खाेपबाडीबीच हुनेछ ।