शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित चन्द्रोदय आधारभूत विद्यालयको मैदानमा आजदेखि सुरु क्लबस्तरीय यु-१८ फुटबल प्रतियोगितामा आयोजक हात्तीकिल्ला एफसी र नवज्योति युवा क्लब जयपुर विजयी भएका छन् ।

 

जितसँगै दुवै टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर । उद्घाटन खेलमा आयोजक क्लबले बिर्तामोडको मैदान एफसीमाथि ३-० गोलअन्तरमा जित दर्ता गर्यो । आयोजकका लागि भुपेन अधिकारीले खेलको ७ मिनेटमै आकर्षक गोल गरेका थिए । यस्तै, टिमका लागि दोस्रो गोल दिपेश अधिकारी र तेस्रो गोल कुशल अधिकारीले गरेका थिए ।

 

यसैगरी, आजै भएको दोस्रो खेलमा जित दर्ता गर्दै सडनडेथबाट जयपुरले जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । न्यू स्टार क्लब खोपबाडी बिर्तामोडसँग भएको प्रतिस्पर्धामा निर्धारित समयमा दुवै टोलीले १-१ गोलको समान नतिजा निकालेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

 

जयपुरका लागि पुजन थापा र खाेपबाडीका लागि आशिष लावतीले गाेल गरेका थिए । टाइब्रेकरमा पनि समान गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा १३-१२ गोलअन्तरमा जयपुरले बाजी मार्यो । आजको खेलसँगै बिर्तामोडका दुई टोली बाहिरिएका छन् ।

 

भोलि (बिहीबार) पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झापा एफसीले न्यू स्टार बुद्धशान्तिसँग खेल्नेछ भने दोस्रो खेलमा शनिश्चरे एफसीले गरामनी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

हात्तीकिल्ला एफसीको आयोजनामा भएको प्रतियोगिताको नगद २५ हजार र ट्रफी पाउने छ भने उपविजेताले नगद १५ हजार पाउने छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय र उत्कृष्ट रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ता बन्ने खेलाडीले जनही नगद १ हजार ५ सय पाउने आयोजकले जनाएको छ ।

 

क्लबका अध्यक्ष कुमार कार्कीकाे अध्यक्षतामा भएकाे फुटबल प्रतियाेगिताकाे उद्घाटन अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गरेका थिए ।