शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित क्लबस्तरीय यु-१८फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक हात्ती किल्ला क्लबलाई स्तब्ध पार्दै शनिश्चरेले उपाधि रक्षा गरेको हो ।

 

शनिश्चरेले आयोजकलाई ४-१ गोलअन्तरले पराजित गरेर प्रतियोगिताको च्याम्पियन बन्यो । खेलको सुरुवातीमै आयोजक टोलीले गोल गरेर अग्रता लिए पनि त्यो अग्रता जोगाउन भने नसक्दा उपाधि शनिश्चरेलाई सुम्पन बाध्य बन्यो ।

 

खेलको ६ मिनेटमै आयोजकका कुशन लिम्बूले गोल गरेका थिए । तर, शनिश्चरेका कृष्ण भुजेलले खेलको २१औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका हुन् ।

 

यस्तै, खेलको २८औँ मिनेटमा रविन विकले गोल गर्दै शनिश्चरेको अग्रता दोब्बर बनाए । खेलको ४३औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा शनिश्चरेका निखिल तामाङले गोल गरेर फराकिलो अन्तर निकाले ।

 

उनैले ५१औँ मिनेटमा व्यक्तिगत दुई गोल गरेर ४-१ गोलको अन्तरमा टिमलाई जित दिलाउन सफल भए । उनले खेलको सर्वाधिक गोलकर्ता बन्दै नगद १ हजार ५ सय र ट्रफी पाए ।

 

यस्तै, खेलको म्यान अफ दी म्याच शनिश्चरेका रविन विश्वकर्मा भए । उनले नगद ५ सय प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट रक्षक आयोजकका विशाल निरौला, उत्कृष्ट रक्षक आयोजककै प्रशान्त दाहाल र उत्कृष्ट खेलाडी आयोजककै दिपेश धिमाल घोषित भए । उनीहरुले जनही १ हजार ५ सय र ट्रफी पाए ।

 

विजेता शनिश्चरे एफसीले नगद २५ हजार र ट्रफी पायो भने उपविजेता आयोजकका खेलाडीले नगद १५ हजार र ट्रफीमा चित्त बुझाएको छ । समापन कार्यक्रममा अर्जुनधारा नगरपालिका ८ नम्बर वडा समितिका अध्यक्ष कुमारप्रसाद उप्रेतीले १८ वर्षमुनिको फुटबल प्रतियोगितालाई अब वडाले नै संयोजन गरेर बर्सेनि प्रतियोगिता गर्ने उद्देश्य लिएको बताए ।

 

वडाध्यक्ष उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलमा आयोजकका अध्यक्ष कुमार कार्की, नेपाल खेलकुद महासंघका प्रदेश अध्यक्ष राजकुमार थापा, युवा व्यवसायी तारा खतिवडा, जनप्रतिनिधि सरु बुढाथोकी, मनोज थापामगर, खेलप्रेमी तुल श्रेष्ठलगायतले विजेता तथा उपविजेता टिमका खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।