शनिश्चरे । झापाको अर्जुनधारामा आमसञ्चार तथा पत्रकारिता तालिम लिन इच्छुकलाई ७ दिने आधारभूत तालिम दिइएको छ ।

 

अर्जुनधारा ८ नम्बर वडा कार्यालयले आयोजना गरेको तालिम शुक्रबार सम्पन्न भएको हो । गएको जेठ २० गतेदेखि आयोजित सात दिने आमसञ्चार तथा आधारभूत पत्रकारिता तालिममा नेपाल टेलिभिजनका प्रमुख डा. टंक उप्रेतीले तालिम दिएका थिए ।

 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले सूचना सत्य तथ्य जाँच गर्ने माध्यम पत्रकारिता भएकाले तालिमले युवा वर्गलाई आफूले पाएको सूचनालाई पनि पत्रकारिताझैँ खुट्याएर अघि बढ्न सुझाव दिए ।

 

तालिमको आयोजना गर्ने वडा कार्यालय र जनप्रतिनिधिलाई धन्यवाद दिएका नगर प्रमुख गोम्देनले समाचार सम्प्रेषण गर्दा प्रष्ट हुनुपर्नेमा जोड दिँदै सकारात्मक पाटोलाई छाडेर नकारात्मकमात्र प्रचार गर्नेहरुको झुण्डले समाज भाँडिँदै गएको पनि सुनाए ।

 

जनप्रतिनिधिले नराम्रो काम गरे नराम्रै समाचार र राम्रो काम गरेको खण्डमा प्रशंसा गर्दै समाचार बनाउनु पत्रकारिताको धर्म भएको भन्दै उनले प्रशिक्षक उप्रेतीबाट प्रशिक्षण पाउनु पनि ठुलो उपलब्धी भएकोमा सहभागीलाई धन्यवाद दिए ।

 

यस्तै, नेपाली पत्रकारिता र आमसञ्चारका बारेमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए । उनले तालिमका सहभागीलाई पत्रकारिताबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि वडाले लगानी गरेको उल्लेख गरे । प्रशिक्षार्थीद्वय सलोन तिम्सिना र सलिसा श्रेष्ठले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा वडा सदस्य जानुका रसाइलीले स्वागत गरेकी थिइन् ।

 

अर्जुनधारा प्रेस क्लबका सचिव नरेश खातीले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख गोम्देन, प्रशिक्षक उप्रेती, वडाध्यक्ष उप्रेती, वडा सदस्यद्वय सरु बुढाथोकी, जानुका रसाइलीले १८ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।