ओखलढुंगा । ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आजबाट सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् ।
उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३-१ गोल अन्तरले हरायो । जितसँगै उसले झापासँगको भेट पक्का गरेको छ । ओखलढुंगाका लागि प्रविन मगर र सञ्जय गुरुङले व्यक्तिगत दुई गोल गरेका थिए ।
सोलुखुम्बुका लागि थिराज राईले सान्त्वाना गोल फर्काए । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने ओखलढुंगाका सञ्जय राई भए । उनले नगद चार हजार रुपैयाँ र मेडल पाए ।
त्यस्तै, आजको दोस्रो खेलमा उदयपुरले मोरङलाई १-० गोल अन्तरले हराएको छ । मोरङले अर्को खेल संखुवासभासँग खेल्नेछ । उदयपुरका सुनिल खड्काले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गोलकर्ता खड्का भए । उनले पनि नगद चार हजार र मेडल पाए ।
प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । ताप्लेजुङ भने पहिरोका कारण सडक अवरुद्ध भएपछि नआउने भएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले जनही पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् । प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ । भोलिको खेल धनकुटा र भोजपुरबीच तथा सुनसरी र पाँचथरबीच हुनेछ ।