ओखलढुंगा । इलाम र खोटाङ कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ओखलढुंगामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा धनकुटालाई हराउँदै इलाम अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको सुरुवातमै इलामले धनकुटाविरुद्ध अग्रता लिएको थियो । खेल तेस्रो मिनेटमा इलामका अर्जुन गुरुङले गोल गर्दै अग्रता दिलाएका हुन् । त्यस्तै, खेलको ४८औँ मिनेटमा इलामका विनोद धमलाले अर्को गोल थप्दै स्थिति २-० को गोल अन्तरमा पुर्याएका थिए ।
खेलको म्यान अफ द म्याच विनोद धमला भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय समाजसेवी मेखबहादुर खड्काले नगद चार हजार र मेडल प्रदान गरे ।
यसैबीच, आजै सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सुनसरीलाई टाइब्रेकरमा हराउँदै खोटाङ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको औँ मिनेटमा खोटाङका विशाल राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, ५२ औँ मिनेटमा सुनसरीका निर्मल भूजेलले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
टाइब्रेकरमा खोटाङ भाग्यमानी सावित भयो । खोटाङका गोलकिप्परले घाइते भएर पनि उत्कृष्ट बचाउ गरेका थिए । टाइब्रेकरमा खोटाङले ५-४ गोल अन्तरले जित्यो । खेलको म्यान अफ द म्याच खोटाङका गोलकिप्पर किरण राई भए ।
इलामले फाइनल प्रवेशका लागि ओखलढुंगासँगको भेट पक्का गरेको छ । त्यस्तै, खोटाङले दोस्रो सेमिफाइनल खेल संखुवासभासँग खेल्नेछ । दुवै सेमिफाइनल खेल भोलि शुक्रबार हुनेछ ।