झापा । साविक उपविजेता नेपाल भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

 

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे । पहिलो हाफमा भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो ।

 

खेलको ६१औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७०औं मिनेटमा महेशले गोल गर्दै भारतलाई २-० को जित दिलाए । यस जितसँगै समूह ‘ए’ बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ ।

 

भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो ।

 

नेपाल भने एक खेल अगाबै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३(१ ले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो ।

 

कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पनि अंक विहीन रहदै पुछारमा रहेको छ । पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।